समाज

आदिवासी दिवसमा अर्जुनधाराका प्रशिक्षक, रेफ्री र खेलाडी सम्मानित

By admin

August 09, 2024

शनिश्चरे । ३०औँ विश्व आदिवासी दिवस झापाको अर्जुनधारामा नगरभित्रका प्रशिक्षक, रेफ्री र खेलाडीलाई सम्मान गर्दै शुक्रबार मनाइएको छ ।

 

नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधारा नगर समन्वय परिषद्ले आयोजना गरेको कार्यक्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वलाई नगदसहित सम्मान गरिएको हो ।

 

फुटबलको क्षेत्रमा योगदान पुर्याएवापत प्रशिक्षक तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), फिफा रेफ्री श्याम दनुवार र २०७५ सालमा चीनमा सम्पन्न दी वल्र्ड हिरो कप च्याम्पियनसीप–२०१८ की स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी एन्किला राईलार्ई सम्मान गरिएको हो ।

 

उनीहरुलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देन, जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष कर्ण तामाङलगायतले सम्मान गरे । परिषद्का उपाध्यक्ष भीम श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव विजय साम्पाङ राईले गरेका थिए ।

 

विभिन्न जातजातिको संस्कृति झल्किने नृत्य तथा गीत प्रस्तुत गरिएको कार्यक्रमअघि र्यालीले नगर परिक्रमा गरेको थियो । यस्तै, कलाकारहरुले आफ्नो प्रस्तृति राखेका थिए ।

 

परिषद्का सल्लाहकार कृष्णकुमार थेवेले विश्व आदिवासी दिवसको औचित्य र आदिवासीबारे प्रकाश पारेको कार्यक्रममा वडाध्यक्षहरु कुमारप्रसाद उप्रेती, भूपेन्द्र न्यौपाने र खगेन्द्र इङनाम, परिषद् झापाका अध्यक्ष पाण्डवलाल चौधरी, किरात राई यायोक्खा अर्जुनधाराकी सल्लाहकार कुसुम थुलुङ राईलगायतले आफ्ना भनाइ राखेका थिए ।