समाज

फिल्ममा श्रीमती बनेकी महिलाले घरजग्गा कव्जा गरेपछि…

By admin

August 12, 2024

झापा । उमेरमा करिब ४० वर्षले कान्छी एक महिलाले ‘हनी ट्रयाप’ मा पारेर आफ्ना सारा सम्पत्ति हडपेको भन्दै झापा गौरादह ८ भुँडीसिमलका ७० वर्षीय बृद्ध पुलेन्द्रप्रसाद राजवंशीले सहयोगका लागि अपिल गरेका छन् ।

 

गौरादहकै करिव ३१ वर्षीया गंगादेवी कोचले घरजग्गा कव्जा गरेपछि कोही नभएका ती बृद्ध विगत ११ दिनदेखि घरबारविहीन भएका छन् । जायजेथा भएर पनि उनी आश्रयको लागि भौतारिरहेका छन् ।

 

करिब डेढ वर्षअघि श्रीमती जल्पादेवी सेढाई राजवंशीको निधन भएपछि छोराछोरी नभएका पुलेन्द्र एक्लै बस्दै आएका थिए । ११ दिनअघि उपचारका लागि धरान गएका बखत गंगादेवीले पुलेन्द्रको घरको ताला फुटाई घरजग्गा कव्जा गरेको उनको दाबी छ ।

 

करिब दुई महिनाअघि गौरादह नगरपालिकाका दमकल चालक ललित राजवंशीमार्फत पुलेन्द्र र गंगादेवीबीच चिनजान भएको बताइएको छ । ९ र १४ वर्षका दुई छोरीकी आमा गंगादेवी तिनै ललित राजवंशीको होटलमा काम गर्थिन् ।

 

आफूले नमान्दा नमान्दै ललित राजवंशीले ‘देउनियार कि गति’ भनिएको राजवंशी फिल्ममा अभिनय गर्न लगाएको र आफ्नी श्रीमती बनेर सुटिङ गरिसकेपछि त्यसको दुई महिनापछि आएर तिनै गंगादेवीले घरजग्गा कव्जा गरेको ती बृद्ध बताउँछन् ।

 

गत जेठ २२ गते कन्काईको कोटीहोममा ७० वर्षका पुलेन्द्र बेहुलो र ३१ वर्षकी गंगादेवी बेहुली बनेर विवाह गरेको भिडियोमा देखिन्छ । जुन भिडियोमा ललितले कमेन्ट्री गरेका छन् ।

 

फिल्ममा खेल्ने बेलामा पनि गंगादेवीको लुगाफाटा, गाडी ,खाजालगायतमा ललित राजवंशीले करिव डेढ लाख रुपैयाँ खर्च गर्न लगाएको, फिल्म खेलिसकेपछि पाँच लाख रुपैयाँ बार्गेनिङ गरेको र पैसा नदिएपछि घरजग्गा कव्जा गरेको पुलेन्द्रको दाबी छ ।

 

उनले ‘हनी ट्रयाप’ गरेको र आफ्नो घरभित्र रहेको जायजेथा लुटपाट गरेको आरोपमा झापा जिल्ला अदालतमा मुद्धा दायर गरेका छन् । त्यस विषयमा गंगादेवीसंग बुझ्न खोज्दा उनी सम्पर्कमा आइनन् । उनको ९८१७ ९५१७३४ नम्बरको मोवाइलमा पटक पटक सम्पर्क गर्दा उनले रिसिभ नगरेको सथानयि सञ्चारमाध्यमहरुमा समाचार छ ।