समाज

इटालियन पेस्तोलसहित दमकका सञ्जीव पक्राउ

By admin

August 12, 2024

झापा । झापाको दमकमा पेस्तोल र म्याग्जिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक ८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार आज बिहान ३ः५५ बजेको समयमा दमक ५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गजमेरलाई पक्राउ गरेको हो ।

 

विशेष सूचनाको आधारमा उनी सवार को ३८ प ५६४९ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटरको अगाडि चाबी लगाउने भागको तल सामान राख्ने खाली ठाउँमा लुकाइछिपाई राखिएको मेडइन इटाली लेखिएको पेस्तोल र दुई थान म्याग्जिन फेला परेको डीएसपी चन्दले बताए ।

 

बरामद गरिएको पेस्तोल, म्याग्जिन, स्कुटरसहित गजमेरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनले के प्रयोजनका लागि पेस्तोल बोकेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।