समाज

‘हनी ट्रयाप’ नभइ विहे गरेर भित्र्याएको गंगादेवीको भनाइ

By admin

August 16, 2024

झापा । फिल्ममा श्रीमती बनेको नभई झापा गौरादह ८ भुँडीसिमलका ७० वर्षीय बृद्ध कुलेन्द्रप्रसाद राजवंशीले आफूलाई विहे नै गरेर घर भित्र्याएको गंगादेवी कोचले बताएकी छन् ।

 

‘हनी ट्रयाप’ मा पारेर आफ्ना सारा सम्पत्ति हडपेको भन्दै कुलेन्द्रप्रसादले आफूमाथि लगाएको आरोपलाई गंगादेवीले सरासर झुट बताएकी छन् । आफूभन्दा करिब चालीस वर्षले जेठो कुलेन्द्रसँग नमान्दा नमान्दै उनले रातदिन धाएर आफूलाई विहे गर्न मनाएको गंगादेवीले दाबी गरेकी छिन् ।

 

गंगादेवीको भारतमा विहे भएको थियो । दुईजना छोरीकी आमा गंगादेवीले पहिलाका श्रीमानसँग करिव ७ वर्षअघि सम्बन्ध विच्छेद गरेकी थिइन् । आफ्ना बुवा विजय कोचलगायत परिवारका सदस्यहरुसँग सल्लाह गरी गत जेठमा कुलेन्द्रले आफूसँग कन्काईको कोटिहोममा विहे गरेको उनले स्पष्ट पारेकी छन् ।

 

विहेपश्चात् करिब एक महिना सँगै बसेको र आफू माइत गएको बेला घरमा ताला लगाएर घर छोडेका कुलेन्द्रले त्यसपछि आफूलाई घरबाट निकाल्न विभिन्न षडयन्त्र रचेको गंगादेवीको आरोप छ ।

 

माइतबाट घर फर्किंदा ताला लगाएको भेटिएको र श्रीमान कुलेन्द्रलाई फोन गरेर बोलाउँदासमेत नआएपछि घर छेउका आफन्तकोमा १० दिनसम्म आश्रय लिएर अन्ततः बाध्य भएर घरको ताला फुटाएको उनको भनाइ छ ।

 

आफ्ना श्रीमान कुलेन्द्र पीडित नभएर आफूलाई उनले घोर अन्याय गरेको भन्दै गंगादेवीले न्याय दिलाइदिन सरोकारवालाहरुसँग आग्रह गरेकी छन् ।