समाज

इप्रका बिर्तामोडका थुनुवा बिर्तासिटीबाट फरार

By admin

August 21, 2024

बिर्तामोड । उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हत्कडी फुस्काएर फरार भएका छन् ।

 

हिजो दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचाररत दमक ३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड १ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई फरार भएका हुन् ।

 

लागूऔषध मुद्दामा भदौ २ गते राति पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । घटनाको जानकारी गराउनासाथ इप्रका बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टको कमाण्डमा खोजतलास भइरहेको जनाइएको छ ।

 

बिर्तामोड १ पश्चिम बसस्टेन्डबाट प्रहरी टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका राईलाई हिरासतमा राखी ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको थियो ।