समाज

अर्जुनधारामा बालिकामाथि सामूहिक बलात्कार, आरोपी ६ जना पक्राउ

By admin

August 25, 2024

झापा । झापामा एक जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । घटनामा ७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई अलगअलग स्थानमा पुर्‍याएर एकैरात ७ जनाले सामूहिक बलात्कार गरेका हुन् ।

 

एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार १६ वर्षीया बालिका शुक्रबार राति बलात्कृत भएकी हुन् । सुरुमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटेलमा लगेर बलात्कार गरिएको चन्दले बताए ।

 

बालिकालाई सुरुमा अर्जुनधारा नगरपालिका ५ का १९ वर्षीय अनीश लिम्बू, अर्जुनधारा ८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

उनीहरूले बालिकालाई राति ८ः१५ बजेतिर अर्जुनधारा ८ स्थित नयाँ बजार पुर्‍याएर बाख्रा हटिया लाग्ने स्थानको फलैँचामा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

त्यसपछि बालिकालाई राति ११ बजेतिर अर्जुनधारा ७ स्थित लंका होटेल एन्ड रिसोर्टमा पुर्‍याइयो । अर्जुनधारा ८ का १९ वर्षीय सुनिल राजवंशीले होटेलमा लगेर अरू ४ जनाले बलात्कार गरेको डीएसपी चन्दले बताए ।

 

उनका अनुसार होटेल सञ्चालक राजवंशीसहित होटेलमा ‘कुक’को काम गर्दै आएका अर्जुनधारा ७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका बारेमा प्रहरीले शनिबार साँझमात्रै जानकारी पाएको थियो ।

 

बालिकामाथि सामूहिक बलात्कार भएको घटनासँग सम्बन्धित जाहेरी साँझ ७ बजेतिर इलाका प्रहरी कार्यालय अनारमनीमा परेको हो । त्यसपछि बलात्कारमा संलग्नको खोजी र पक्राउका लागि इन्स्पेक्टर सन्तोष राईको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।

 

प्रहरीले बलात्कारमा संलग्न भएको आरोप लागेका होटेलका कर्मचारी सुनिलसहित ६ जनालाई पक्राउ गरेको छ । सञ्जीव फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । बलात्कारबाट पीडित भएकी बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी चन्दले बताए ।

 

पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।