खेलकुद

यसवर्ष इलाम गोल्डकपकाे पुरस्कार १० लाख

By admin

August 28, 2024

इलाम । इलाम गोल्डकपको दोस्रो संस्करण आउँदो मंसिरमा सञ्चालन गरिने भएको छ । रेडहर्स फुटबल क्लब इलामले ठूलो टुँडिखेलमा आयोजना गर्ने गोल्डकपको विजेताले नगद १० लाखसहित ट्रफी पाउने भएको हाे ।

 

गत माघमा पहिलो संस्करण गरेको आयोजकले यसवर्ष पुरस्कार राशिमा दोब्बर बृद्धि गरेको हो । पहिलो संस्करणको विजेताले नगद ५ लाखसहित ट्रफी पाएको थियो ।

 

आयोजकले आज पत्रकार सम्मेलन गरी पुरस्कार राशिसहित गोल्डकपको बारेमा जानकारी गराएको छ । प्रतियोगितामा सहभागी हुने ए डिभिजनसहित सम्भावित आठ टिमको नामसमेत आयोजकले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्यो ।

 

सहभागी हुने टिमहरुमा न्युरोड टिम (एनआरटी), मच्छिन्द्र एफसी, थ्रीस्टार एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, बिर्तामोड युनाइटेड एफसी, अफ्रिकन क्लब दाउफिन्स र आयोजक रेडहर्स फुटबल क्लब रहेका छन् ।

 

आयोजक समितिका साङ्गे योल्मोले प्रतियोगिताका लागि तयारी सुरु भइसकेको बताए । ‘हामीले मैदान र आर्थिक सहयोगसहितका काम सुरु गरेका छौं,’ उनले भने, ‘गतवर्षको प्रतियोगिता भव्य भएकाले हामी उत्साहित छौं ।’

 

गतवर्षको संस्करणमा च्याम्पियन बनेको टोली एनआरटीले पाँच लाख पाएको थियो । यसवर्ष उपविजेता बन्ने टोलीले ५ लाखसहित ट्रफी पाउने छ । प्रतियोगितामा ७८ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका निरोज खड्गीले जानकारी दिए ।

 

पहिलो संस्करणमा एनआरटीले टाइब्रेकरमा बिर्तामोड युनाइटेडलाई ४-३ गोलान्तरले पाखा लगाएको थियो । उपविजेता झापाले तीन लाख रुपैयाँमा चित्त बुझाएको थियो ।