झापा । इलामको शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिएका राजन माइकल गुरुङ (माइकल सर)को निधन भएको छ ।
गुरुङ बुधबार बिहान विद्यार्थीलाई पढाउनेक्रममा स्कुलमै अचानक भुइँमा ढलेर अचेत भएका थिए । उनलाई झापाको बिएन्डसी अस्पतालमा बिहीबार साँझसम्म उपचार गर्दा पनि होस नखुलेपछि भारतको सिलिगुडीस्थित एक अस्पताल लगिएको थियो । त्यहाँ पुग्नेबित्तिकै चिकित्सकले गुरुङलाई मृत घोषणा गरेको शिक्षक विकास कर्माचार्यले बताए ।
उनलाई चिकित्सकले ब्रेन ह्यामरेज र हर्ट अट्याक्ट भएको बताएका थिए ।स्व गुरुङको अन्त्येष्टि भोलि दिउँसो १ बजे भारतको दार्जिलिङ जिल्लाअन्तर्गत कालिङपोङमा गरिने जनाइएको छ ।
उनको पार्थिव शरीर हिजो राति नै कालिङपोङ पुर्याइएको छ । इलाम प्याब्सनले स्व गुरुङप्रति श्रद्धा सुमन व्यक्त गर्न भदौ १६ गते आइतबार संस्थागत विद्यालयहरुमा शोक विदा दिने तयारी गरेको छ ।
दार्जिलिङ कालिङपोङ बनवस्तीका स्थायी बासिन्दा गुरुङले २०५३ सालमा माउन्ट मेची सेकेण्डरी बोर्डिङ स्कुलमा शिक्षण गरेका थिए । २०५४ मा ग्रीन भ्याली अंग्रेजी बोर्डिङमा प्रिन्सिपल भएका उनी २०७९ देखि पुनः माउन्ट मेची सेकेण्डरी बोर्डिङको प्रिन्सिपल भएका थिए ।
गुरुङको परिवारमा पत्नीसहित दुई छोरा सोदेश र सिद्धार्थ छन् । गुरुङ दम्पती एउटै स्कुलमा कार्यरत थिए ।