शिक्षा

प्याब्सन अर्जुनधाराको अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न

By admin

August 30, 2024

शनिश्चरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अर्जुनधारा झापाको आयोजनामा आज अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ ।

 

अर्जुनधारा ४ स्थित सूर्यज्योति इङलिस बोर्डिङ स्कुलमा आयोजित प्रतियोगितामा आधारभूत र माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ, श्रुति लेखन, निबन्ध, चित्रकला, आकस्मिक वक्तृत्वकला, कविता लेखन तथा वाचन विधा समावेश गरिएको थियो ।

 

प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन अर्जुनधारा ४ का वडाध्यक्ष अमरबहादुर कटुवालले गरेका थिए ।

 

संस्थाका सचिव राजेश आचार्यले सञ्चालन गरेको कार्यक्रममा अर्जुनधाराका २९ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेतालाई आइतबार पुरस्कृत गरिने संस्थाका उपाध्यक्ष कुमार रायाले जानकारी दिए ।

 

प्याब्सन अर्जुनधारामा आवद्ध विद्यालयका ६३० जना छात्रछात्राले प्रतियोगितामा सहभागिता जनाएका थिए । माध्यमिक तहका विजेता विद्यार्थीले जिल्लामा हुने प्रतियोगितामा पालिकाबाट सहभागिता जनाउने बताइएको छ ।