झापा । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो ।
लगातार दोस्रो पटक पारा ओलम्पिकको कांस्य पदक भिडन्तको प्रतिस्पर्धामा पुगेकी पलेशाले पेरिसमा भने पदक जित्न सफल भइन् । उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के-४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् ।
पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५-८ स्कोरले हराएर कांस्य पदक जितेकी थिइन् । तीन वर्षअघि टोकियो ओलम्पिकको रिपिचेजको दोस्रो खेल पनि मरिजालाई नै हराएर कांस्यको भिडन्तमा पुगेकी थिइन् ।
नेपालले ओलम्पिक इतिहासमा सन् १९८८ को सोल ओलम्पिकमा तेक्वान्दोको प्रदर्शनी खेलमा कांस्य पदक जितेको थियो । उक्त कांस्य विधान लामाले जितेका थिए ।
नेपालले सन् १९६४ को टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । सन् २००४ एथेन्सबाट नेपालले पारा ओलम्पिकमा पनि भाग लिने थालेको इतिहास छ ।