समाज

मोरङको सुन्दरहरैँचामा दुई नाबालिका मृत फेला

By admin

August 31, 2024

झापा । मोरङको सुन्दरहरैँचा नगरपालिका ७ स्थित एक केरा बगानभित्र दुई नाबालिका मृत अवस्थामा फेला परेका छन्।

 

शनिबार अपरान्ह ४ः३० बजेतिर स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू १ वर्षीया अर्पणा र ३ वर्षीया आयिका कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

 

घटनाबारे जानकारी पाएपछि स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा बालिकाहरूको रहस्यमय मृत्यु भएको बताएको छ ।

 

अहिले प्रहरीले घटनास्थललाई सुरक्षित गर्दै विस्तृत अनुसन्धान अघि बढाएको छ। यस घटनाले समुदायमा त्रास र चिन्ता फैलाएको छ । साथै, अर्जुन कार्कीकी पत्नी २९ वर्षीया अस्मिता न्यौपाने भने घटनालगत्तै सम्पर्कविहीन भएको र प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ।

 

घटनास्थलमा प्रहरी टोली परिचालित भइसकेको छ भने शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले घटना रहस्यमय भएको र यसमा कुनै आपराधिक क्रियाकलाप भएको हुनसक्ने आशंका गरेको छ।

 

सम्पर्कविहीन अस्मिता न्यौपानेको खोजी कार्यलाई प्राथमिकतामा राखिएको र प्रहरीले उनको सम्भावित ठेगाना र सम्पर्कमा रहेका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको जनाएको छ।