अर्थ बजार

अलैँचीको मूल्य बढेपछि कृषक उत्साहित

By admin

September 05, 2024

झापा । अलैँचीको मूल्य बढेपछि पूर्वी पहाडी क्षेत्रका अलैँची कृषक उत्साहित भएका छन् । अहिले अलैँचीको मूल्य प्रतिमन (४० केजी) ८४ हजार छ ।

 

अलैँचीको नयाँ उत्पादन सुरु भए पनि मूल्य राम्रो पाउँदा आफूहरू खुसी भएको कृषकको भनाइ छ । अघिल्ला वर्षहरूमा कृषकको उत्पादन सकिएसँगै मूल्य बढ्ने र कृषकको उत्पादन हुन थालेपछि मूल्य घट्ने गरे पनि यो वर्ष भने नयाँ अलैँची उत्पादन हुँदासमेत मूल्य नघटेकोले आफूहरू उत्साहित रहेको धनकुटा पाख्रिवास नगरपालिका २ का अलैँची कृषक निर्मल स्याङदेन बताउँछन् ।

 

‘केही वर्षयता कृषकले आफ्नो लगानीसमेत उठाउन सकेको थिएनौ तर यो वर्ष राम्रो मूल्य पाएको छौँ’, स्याङदेनले भने । गतवर्षबाट उकालो लाग्न थालेको अलैँचीको मूल्यले यो वर्ष पनि निरन्तरता पाउँदा आफूहरू खुसी भएको सान्नेका अर्का कृषक बलबहादुर अधिकारीले बताए ।

 

२०७१ सालमा एक लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यसयता भने निरन्तर ओरालो लाग्दै आएको थियो । २०७४ सालमा ६० हजारबाट ओरालो लागेको मूल्य गत पुससम्म प्रतिमन २५ हजार रुपैयाँले कारोबार भएको अलैँची त्यसयता भने अलिअलि बढ्दै गएको हिलेका अलैँची व्यापारी श्याम शाह बताउँछन् ।

 

गतवर्ष करिब ६० हजार रुपैयाँ प्रतिमनसम्म पुगेको उनको भनाइ छ । उत्पादन कम र ठुला व्यापारीहरूले अलैँची खरिद गरेर स्टक गर्न थालेपछि मूल्य बढेको शाहको तर्क छ ।

 

अलैँचीको बजार भारतमा भर पर्ने भएकाले भारतमा उत्पादन घटेमात्र नेपालको अलैँचीले भाउ पाउने केन्द्रका प्रमुख नगेन्द्र रानाले बताए ।