समाज

इटहरी आसपास नगद लुटपाट गर्ने ७ जना पक्राउ

By admin

September 08, 2024

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतङ्कित पारी लुटपाट गर्ने सात जनाको समूहलाई शनिबार पक्राउ गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका ३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगत रहेका छन् ।

 

उनीहरुले तालतलैया घुम्न आएको समयमा बाटो छेकेर चक्कु देखाउँदै दुई लाख लुटपाट गरी फरार भएका थिए । उक्त घटना सम्बन्धमा पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि लुटपाटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको उपरीक्षक भण्डारीले बताए ।

 

प्रहरीका अनुसार रामधुनी नगरपालिका ३ को २२ वर्षीय अनिस कोइराला र १९ वर्षीय सुशन थापा पक्राउ परेका छन् । त्यसैगरी इटहरी ४ को २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत र १८ वर्षीय निश्चल बस्नेत तथा सोही नगर वडा नं ७ का १८ वर्षीय साकार भण्डारी र इटहरी ४ का २४ वर्षीय विशाल तामाङ, वडा नम्बर १६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका छन् ।

 

उनीहरूको साथबाट तीन लाख २५५ रुपैयाँ नगदसहित चक्कु, ओकेटोके हेण्ड सेट र मोबाइल बरामद गरिएको उनले बताए । पक्राउ परेका सातै जनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।