खेलकुद

झापाः सालबारी र गोलधाप यु-१४ फुटबलको फाइनलमा

By admin

September 08, 2024

शनिश्चरे । सालबारी एफसी र गोलधाप युथ क्लब झापाको अर्जुनधारा १० मा जारी १४ वर्षमुनिको फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

 

आइतबार भएको दुई सेमिफाइनल खेलबाट उपाधि दाबेदार टोलीको टुंगो लागेको हो । पहिलो सेमिफाइनल खेलमा सालबारीले सेतीपानी टिमसँग २-१ गोलले पराजित भएको थियो ।

 

तर, सालबारीले सेतीपानीको टिममा १४ वर्षभन्दा माथिको उमेरका तीन खेलाडी खेलाएको भन्दै विरोध पत्र आयोजकसामु बुझाएको थियो ।

 

आयोजकले छानबिन गर्दा सेतीपानीका खेलाडीको दुरुस्त कागजपत्र नभेटिएको पाइएको भन्दै सालबारीलाई विजेता घोषणा गरेको आयोजक अर्जुनधारा १० नम्बर खेलकुद विकास समितिका अध्यक्ष सुजन थापामगरले जानकारी दिए ।

 

अन्तिम सेमिफाइनल खेलमा गोलधापले मनास्लु युथ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । गोलधापले ५-४ गोलअन्तरमा मनास्लुलाई पाखा लगाएको हो ।

 

सुरुवाती अग्रता गोलधापले लिएको थियो । २-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै मनास्लुले २-२ गोलको बराबरी गरे पनि टाइब्रेकरमा पराजित हुन पुग्यो ।

 

अर्जुनधारा १० नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजारसहित ट्रफी पाउने छ ।