झापा । झापाको दमकमा भएको गौ हत्या घटनामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीन जना भुटानी शरणार्थी र एक जना स्थानीय महिला रहेका छन् ।
पक्राउ पर्नेमध्ये दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट रहेका छन् । उनी यसअघि पनि विभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कार्वाहीमा परेका थिए ।
त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर ३ छाप्रो नम्बर एथ्री-२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल पनि पक्राउ परेका छन् । उनी पनि यसअघि जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ती करणी मुद्दा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपंछीसम्बन्धी कसुर मुद्दामा कार्वाहीमा परेका थिए ।
त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर ३ छाप्रो नम्बर एटु–१२० बस्ने बस्ने ३२ वर्षीय विधान थापा पक्राउ परेका छन् । उनी पनि यसअघि इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कार्वाहीमा परेका थिए ।
त्यस्तै, सोही घटनामा संलग्न भएको आरोपमा दमक नगरपालिका ४ बस्ने ४५ वर्षीया गिता श्रेष्ठ पनि पक्राउ परेकी छन् । भदौ १८ गते राति दमक २ बस्ने लक्ष्मण बिष्टको १ नम्बर वडास्थित पानीट्याङकीनजिक गोठमा बाँधिराखेको २ महिनाको गर्भिणी गाई चोरी गरी उनीहरुले काटेका थिए ।
टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा, करङ तथा घाँटीको मासु काटी अन्य शरीरको भाग घटनास्थलमा छोडेका थिए । घटनापश्चात् फरार रहेका उनीहरु केही प्रमाणसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
उनले घटनामा प्रयोग भएको खुकुरी थान १, बन्चरो थान १ र मासु बोक्न प्रयोग गरेको झोला थान १ उनीहरुको कोठाबाट भदौ २१ गते बरामद भएको जानकारी दिए । उनीहरुमाथि पशुपंछीसम्बन्धी कसुरमा मुद्दा चलाउने जनाइएको छ ।a