झापा । मेचीनगरको काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेटको कार प्रयोग गरी अवैधरुपमा भन्सार छलिएका लत्ताकपडा प्रहरीले पक्राउ गरेको छ ।
कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँमा दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोझै भन्सार अगाडिबाटै सरसामान लैजाने तीन वटा भारतीय नम्बर प्लेटका कारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नयाँ मेची पुलबाट सोझै भन्सार अगाडिबाट नेपाल भित्रिने ती कारहरूलाई सीमामा तैनाथ सुरक्षाकर्मी र भन्सार कर्मचारीले रोकेर चेकजाँच गर्दा खाली भएर त्यतिकै छाडिदिन्थे ।
कारभित्रको सिट, सिटमुनि र डिक्कीमा सरसामान नभएर छाडिएका ती कारहरूलाई शनिबार दिउँसो साढे ४ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा विभिन्न ब्रान्डका लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
तस्कर समूहले नयाँ शैली अपनाएर कारको पछाडि भागको ब्याक लाइट हुने ठाउँ दुलो बनाएर त्यहाँभित्र लत्ताकपडा राखेर नेपाल सरसामान भित्र्याउँदै आइरहेको थियो । यसबारेमा सीमामा तैनाथ सुरक्षाकर्मीले सुइँको समेत पाएनन् ।
प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एन ६८७८, डब्लुबी ७४ पी ७७९९ र डब्लुबी ७४ एन ८५६२ नम्बरको भारतीय कारसहित तीन जनालाई चालकलाई अवैध सामानसहित नियन्त्रणमा लिएको छ ।
ती कारहरू भित्र लुकाइछिपाई ल्याएको अन्दाजी ३ लाख ९९ हजार एक सय रुपैयाँ बराबरको पुरुष ट्राउजर ११० पिस, लेडिज ट्राउजर ४२ पिस, रुमाल १२५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस , लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस फेला परेको थियो ।
ती सामानहरूसहित अन्दाजी २४ लाख बराबरको तीन वटा कार र त्यसका चालकहरू भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला पानीट्याङकी बस्ने ४२ वर्षीय रामदयाल बर्मन, सोही ठाउँका ३३ वर्षीय अमित राय र ४६ वर्षीय राजकुमार घोषलाई नियन्त्रणमा लिएको डीएसपी चन्दले बताए ।