खेलकुद

एन्फा महिला लिगः सुदूरपश्चिमको पोस्टमा आर्मीको १३ गोल

By admin

September 10, 2024

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा दोस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशको पोस्टमा १३ गोल गरेको छ ।

 

आफ्नो तेस्रो खेलमा आर्मीले सुदूरपश्चिममाथि १३-१ को फराकिलो अन्तरले हरायो। मंगलबार भएको खेलमा आर्मीलाई जित दिलाउन दिपा शाहीले ५, अनिता लम्जेलले २, चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्रीदेवी मगर, विमला विक र सन्जु कुमालले समान ११ गोल गरे । अर्को गोल आत्मघाती भएको थियो । सुदूरपश्चिमले पनि १ गोल आत्मघाती रुपमा प्राप्त गरेको हो ।

 

दिपाले २४औं, ३०औं र पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । दिपाले नै ५३औं र ६१औं मिनेटमा अर्को गोल थपिन् । ८१औं र इन्ज्युरी समयमा अनिताले गोल गरिन् ।

 

छैठौं मिनेटमा विमला चौधरी, १५औं मिनेटमा हेमा, २५औं मिनेटमा चन्द्रा, ४५औं मिनेटमा सन्जु, ६३औं मिनेटमा विमला विक र ८७औं मिनेटमा सावित्रीले गोल गरिन् ।

 

सुदुरपश्चिमकी शान्ती विकले २१औं मिनेटमा आत्मघाती गोल गर्दा आर्मीकी निलम श्रेष्ठले पनि ६७औं मिनेटमा आत्मघाती गोल गरेकी हुन्।

 

३ खेलमा ६ अंकका साथ आर्मी तेस्रो स्थानमा उक्लिएको छ । सुदूर समान खेलमा अंकबिहीन रहेको छ । ९ अंकसहित कोशी प्रदेश अंक तालिकाको शीर्ष र ७ अंकसहित एपिएफ फुटबल क्लब दोस्रो स्थानमा छ। यो खेलसँगै एन्फा महिला लिगको तेस्रो राउन्डको खेलहरु पनि सकिएको छ ।