शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका १० नम्बर वडा खेलकुद विकास समितिले आयोजना गरेको १४ वर्षमुनिको फुटबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ ।
उमेर समूहमा विवाद आएपछि स्थगित फाइनल खेल आज दिउँसो ४ बजे सिंहबाहिनी आविको खेलमैदानमा हुने आयोजक समितिका अध्यक्ष सुजन थापामगरले जानकारी दिए ।
उनका अनुसार फाइनल खेल स्थगित भएपछि गठित छानविन समितिको प्रतिवेदनअनुसार फाइनलिस्ट दुवै टोली फाइनल खेल खेल्न सहमत भएका हुन् । फाइनलमा गोलधाप र सेतीपानीले भिड्ने छन् ।
फाइनल खेलमा उजुरी परेका खेलाडी नखेलाउने, १४ वर्षमुनिका खेलाडीमात्र खेलमा सहभागी गराउने दुवै टोलीका व्यवस्थापकले प्रतिबद्धता जनाएपछि फाइनल खेल सञ्चालन गर्न लागिएको अध्यक्ष मगरले बताए ।
फाइनल खेलको विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजारसहित ट्रफी पाउने आयोजकले जनाएको छ । अन्य विधागत पुरस्कारकाे पनि व्यवस्था रहेकाे जनाइएकाे छ ।