खेलकुद

एन्फा महिला लिगमा एपीएफ र आर्मीको जित

By admin

September 12, 2024

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ एफसीले एन्फा महिला लिगमा बिहीबार जित दर्ता गरेका छन् ।

 

पहिलो खेलमा आर्मीले बागमती युथलाई पराजित गरेको हो । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्मीले बागमतीमाथि ३-० को जित हात पार्यो । आर्मीको जितमा विमला चौधरी, अमिशा कार्कीले समान १-१ गोल गरिन् ।

 

आर्मीले १ गोल उपाहार स्वरुप पाएको थियो । बागमतीकी सन्जु थिगंले आत्मघाती गोल गर्दा आर्मीका लागि जित सहज बन्यो । आर्मी ४ खेलबाट ९ जोड्दै तेस्रो स्थानमा छ । बागमती समान खेलबाट ३ अंकका साथ सातौं स्थानमा छ ।

 

दोस्रो खेलमा वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै साविक विजेता एपीएफ लिगको दोस्रो स्थानमा उक्लिएको छ। जितसँगै एपीएफले चार खेलबाट १० अंक जोडेको छ। समान अंक रहे पनि अर्को विभागीय टोली नेपाल पुलिस क्लब गोल संख्यामा अगाडि छ।

 

एपीएफलाई २-१ को जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले गोल गरिन्। वालिङका लागि भने सिसे एन्टोङगोले गोल गरे पनि पर्याप्त रहेन। एपीएफसँग पराजित भएको वालिङको ६ अंक छ।