अर्जुनधारा । वडाबासीको पशु धनलाई सुरक्षित गर्न झापा अर्जुनधारा ११ का जनप्रतिनिधिले पशु बिमा कार्यक्रमलाई निरन्तरता दिन थालेको छ ।
गतवर्ष गरिएको पशु बिमा कार्यक्रम प्रभावकारी भएपछि यसवर्ष पनि निरन्तरता दिइएको अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनामले बताए । आजदेखि वडाको ३ नम्बर टोलबाट पशु बिमा कार्यक्रम सुरु गरिएको छ ।
गतवर्ष वडाका ४६० वटा गाईभैँसीको पशु बिमा गरिएको वडा सदस्य केशव अधिकारीले जानकारी दिए । यसवर्ष उक्त संख्यालाई बढाउँदै झण्डै दोब्बर बनाइने वडाको लक्ष्य रहेको उनले बताए ।
९० हजारबराबरको गरिने बिमामा कृषकले मात्र १० प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ । नगरपालिकाले ८० र वडा कार्यालयले १० प्रतिशत बिमावापतको रकम अनुदान किसानलाई उपलब्ध गराएको छ ।
वडाले बिर्तामोडमा शाखा रहेको आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्ससँग सहकार्य गर्दै कृषकको पशु बिमा गर्दै आएको हो ।