खेलकुद

मि. काठमाडौँ विजेता प्रकाश राईको निधन

By admin

September 18, 2024

झापा । पाँचौँ खुला मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ। मि. काठमाडौँको उपाधि चुमेको चार दिन नबित्दै राईको निधन भएको हो ।

 

शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा राई विजेता भएका थिए। उनको बुधबार बिहान निधन भएको प्रहरीले जनाएको छ।

 

मोरङ पथरी शनिश्चरे नगरपालिका १ मा घर भएका उनी ’फोनिक्स फिटशाला’ बाट सहभागी हुन काठमाडौँ गएका थिए। त्यसका लागि उनी टोखा नगरपालिका ६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका थिए।

 

बुधबार बिहान ६ बजेतिर उनी एक्कासि लडेका थिए। उनलाई तत्कालै नजिकैको ग्रान्डी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।