खेलकुद

झापामा मिडिया कप हुने, विजेतालाई २५ हजार

By admin

September 21, 2024

बुधबारे । बुद्धशान्ति प्रेस क्लबले झापा मिडिया कप २०८१ को आयोजना गर्ने भएको छ । मिडिया कप विजेतालाई नगद २५ हजारसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ ।

 

प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए । उनका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् ।

 

प्रतियोगिताको उपविजेताले नगद १५ हजार र ट्रफी पाउने क्लबका उपाध्यक्ष तथा खेल संयोजक नारायण अर्यालले जानकारी दिएका छन् । यसैबीच आयोजकले लक्की ड्रमार्फत खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

 

असोज १७ गते सुरु हुने प्रतियोगिताको तालिकाअनुसार उद्घाटन खेलमा आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन पहिलो चरणका अन्य ३ खेल हुनेछ ।

 

जसअन्तर्गत आयोजक कनकाई प्रेस क्लबले भद्रपुर प्रेस क्लबसँग र मेचीनगर प्रेस क्लबले दमक पत्रकार मञ्चसँग खेल खेल्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखा भने सिधै बाइ पाएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक क्लबका सचिव रोशन भट्टराईले जानकारी दिए । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेस्थित त्रिभुवन माविको खेलमैदानमा हुनेछ ।