समाज

दशैँ आएसँगै पाथीभरा मन्दिरमा भक्तजनको चाप

By admin

September 25, 2024

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दशैँ र तिहारपर्व नजिकिएसँगै भक्तजनको चाप बढेर गएको छ ।

 

पाथीभरा दर्शन गर्ने मुख्य मौसम सुरु भएको कारण आगामी दिनमा भक्तजनको सङ्ख्या अझै बढ्ने जनाइएको छ । पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य बृद्धि हुने गर्छ ।

 

पाथीभरा मन्दिर नेपालकै महत्त्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक हो । समुद्री सतहदेखि करिब तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित छ । यो मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने भएकाले नेपालबाट मात्र होइन, भारतबाट समेत पाथीभरा दर्शन गर्न हजारौँ श्रद्धालु आउने गर्छन् ।

 

पाथीभरा देवीलाई शक्तिस्वरूपा देवीका रूपमा पुजिन्छ र यो मन्दिरमा विशेषगरी महिलाहरू सन्तान प्राप्तिका लागि, रोगव्याधी निको पार्न तथा इच्छित मन्नत पूरा गर्नका लागि पूजा गर्ने परम्परा छ । यस मन्दिरमा आउने भक्तजनले देवीलाई बलि दिनेसमेत प्रचलन छ ।

 

दशैँ र तिहार पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप बढ्न थालेको छ । दशैँमा विशेषगरी दुर्गा पूजा गर्ने र देवीको आशीर्वाद प्राप्त गर्ने विश्वास राखिन्छ ।

 

समितिका अनुसार यस वर्षको दशैँ र तिहारको समयमा अझ बढी भक्तजन आउने अपेक्षा गरिएको छ, यसका लागि आवश्यक तयारीसमेत भइरहेका छन् ।

 

तीर्थयात्रीहरूको सुविधाका लागि मन्दिर क्षेत्रमा खानेपानी, आवास र अन्य सेवा-सुविधाको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।