झापा । घुस लिने बुद्धशान्तिका वडाध्यक्ष डिल्लीप्रसाद ओली र घुस दिने भारतीय नागरिक अमरनाथ चौहान दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
हिजो दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले राति ९ बजेसम्म इलाका प्रहरी कार्यालय बिर्तामोडमा सर्जमिन मुचुल्का बनाएको थियो । सो टोलीले राति नै दुवैजनालाई इटहरी लिएर गएको हो ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आज बेलुकासम्म दुवै जनालाई काठमाडौं लगिने भएको छ । उनले दुवैजनालाई नियन्त्रणमा लिई नियमअनुसार अनुसन्धान भइरहेको जानकारी दिए ।
बुद्धशान्ति २ का वडा अध्यक्ष ओलीले सेवाग्राही अमरनाथ चौहानसँग जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि हिजो दिउँसो बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडि ८० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।