समाज

बिर्तामोड चिल्ड्रेन हस्पिटलमा १९३७ बालबालिकाको उपचार

By admin

September 26, 2024

बिर्तामोड । झापाको बिर्तामोड १ मा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालमा एक वर्षभित्र १ हजार ९३७ जना बालबालिकाको उपचार गरिएको जनाइएको छ । झापाको पहिलो बाल अस्पतालले झापाली पत्रकारबीच आफ्नो तेस्रो स्थापना दिवस मनाउने क्रममा उपचारबारे जानकारी दिएको हो ।

 

बितेको एक वर्षमा २ हजार ७५१ बालबालिकाले ओपिडी सेवा, १ हजार ७४ ले इमरजेन्सी सेवा र २ हजार १७८ जनाले अस्पताल भर्ना भएर सेवा लिएको तथ्याङ्क अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेषज्ञ डा. रुपक आचार्यले बताए ।

 

जसमध्ये एक जनालाई जटिल समस्याका कारण बचाउन नसकिएको र बाँकी ९९.९ प्रतिशत बालबालिकाले सफलतापूर्वक स्वास्थ्य लाभ लिएको डा आचार्यले बताए । तथ्यांकअनुसार यस अस्पतालबाट २५ जना बालबालिकालाई मात्र सघन उपचारका लागि रेफर गरिएको थियो ।

 

बालबालिकाको मात्रै उपचार गर्ने उद्देश्यले २०७९ असोज १० गतेबाट सुरु भएको हस्पिटलमा १ भेन्टिलेटर, ४ एनआइसियु, ५ पिआइसियु र ५ नर्मल बेडसहित १५ वटा शैय्या रहेको छ ।

 

‘बालबालिकाको उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता पहिल्यैदेखि महसुस भएको थियो’, कार्यक्रममा उनले भने, ‘अस्पताल स्थापना भएपछिको हामीसँग भएको तथ्याङ्कले बाल अस्पताल कति आवश्यक छ भन्ने कुरा बताउँछ ।’

 

बालबालिकाहरुमा खासगरी मेनेन्जाइटिस, मुटुको बिरामी, दिमागमा अक्सिजनको कमि, बाथ रोग, मृगौला लगायतका जटिल रोगहरु देखिने गरेको अस्पतालले जनाएको छ ।

 

शल्यक्रियाबाहेकका सबै सेवा प्रदान गर्दै आएको अस्पतालले मुटुमा समस्या भएका बालबालिकाका लागि प्रत्येक बिहीबार विशेषज्ञ सेवाको व्यवस्था गरिएको डा आचार्यले जानकारी गराए ।

 

अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा सुजता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रमको अध्यक्षता लीला मैनालीले गरेकी थिइन् । आफूहरुले पूर्णरुपमा सेवाभावले अस्पताल सञ्चालन गरेको भन्दै उनले सञ्चारमाध्यमहरुको साथ सहयोग रहने विश्वास व्यक्त गरिन् ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, बिर्तामोड १ नमुना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अस्पतालका सुपरभाइजर राजेन्द्र मैनाली, संस्थापक दिपक प्रसाद आचार्य, प्रेमा आचार्यको समेत उपस्थिति रहेको थियो ।