समाज

झापामा बालिकासहित तीन जना बेपत्ता, बिरिङ पुलमा क्षति

By admin

September 28, 2024

झापा । अविरल वर्षासँगै झापाका विभिन्न नदीमा आएको बाढीले एक बालिकासहित तीन जना बेपत्ता भएका छन् । अर्जुनधाराको बिरिङ खोलाको बाढीले पुलमा क्षति पुगेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाउँपालिका १ बस्ने रमेश चौधरीका ३५ वर्षका छोरा टिकाराम चौधरी नजिकैको किस्ने खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका छन् ।

 

त्यस्तै, कचनकवल गाउँपालिका १ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गर्दा स्थानीय पंचु राजवंशीकी १४ वर्षकी छोरी नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेको पानीले बगाएको बताइएको छ । वेपत्ता दुवैको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै गौरीगंज गाउँपालिका वडा नं. ३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । शुक्रवार बेलुका करिब ४ बजे गौरीगंज २ भाकुरमारी सुकुम्बासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

 

यस्तै अर्जुनधारा नगरपालिका ७ स्थित बिरिङ खोलामा रहेको खुदुनाबारी-शनिश्वरे जोड्ने मोटरेवल पुलमा बाढीले क्षति पुर्‍याएको छ । यो पुल लामो समयदेखि जीर्ण छ । धराप पुलको यात्रा गर्न सर्वसाधारण बाध्य छन् ।

 

पुलमा थप क्षति भएपछि पुलबाट मानिस तथा सवारी साधन आवागमन निषेध गराएर वैकल्पिक मार्गबाट आउजाउको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।