झापा । जमुना खोलाले बगाएको दुई दिनपछि झापा कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशी मृत भेटिएकी छन् । बगाएको ठाउँदेखि करिब २ किलोमिटर दक्षिण धानबारीमा केहीबेर अघि उनको शव फेला परेको हो ।
चमरभिट्टा गाउँदेखि करिब पाँच सय मिटरपूर्व नेपाल भारत सीमा नजिक धानबारीमा उनको शव फेला परेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । खोजी गर्ने क्रममा यसअघि आज बिहान उनको साइकल भेटिएको थियो ।
कचनकवल गाउँपालिका १ झकुवाटोली बस्ने पचुँ राजवंशीकी छोरी नेहारिकालाई शुक्रबार दिउँसो जमुना खोलाले बगाएको थियो । भारतमा रहेकी सानिमाको घरबाट फर्कने क्रममा चमरभिट्टा पुल छेउमा पुगेपछि उनलाई खोलाले बगाएको थियो ।