समाज

आज दिउँसो कोशी र वाग्मतीका केही ठाउँमा भारी वर्षाको सम्भावना

By admin

October 03, 2024

काठमाडौँ । अहिले कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँमा भने आंशिक बदलीदेखि मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

 

कोशी र वाग्मती प्रदेशका एक, दुई स्थानमा आज दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

 

आज राति भने कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

 

कोशी र वाग्मतीमा भारी वर्षाको सम्भावनाले गर्दा गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।