समाज

नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब लगातार वर्षा नहुने

By admin

October 06, 2024

काठमाण्डौ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको हो ।

 

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिसकेको महाशाखाले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अब नेपालका अरू ठाउँबाट पनि मनसुन बिस्तारै बाहिरिने महाशाखाको भनाइ छ ।

 

मनसुनी वायु कमजोर बनेसँगै ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । सामान्यतया नेपालमा मनसुन जुन १३ मा भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिनेमा ५ दिन अघिपछि हुने गरेको छ ।

 

यसपटक तीन दिनअघि अर्थात् जुन १० तारिखमा भित्रिएको मनसुन चार दिन ढिलो गरी बाहिरिन थालेको हो । मौसमविद् प्रतिभा मानन्धरले ८- १० दिन ढिलो गरेर मनसुन बाहिरिनु स्वाभाविक रहेको बताइन् ।