समाज

भारतीय ट्रकमाथि आगजनी गर्ने ८ जनामाथि कर्तव्य ज्यानको मुद्दा

By admin

October 08, 2024

झापा । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका ८ जना समर्थकहरुमाथि कर्तव्य ज्यानको मुद्दामा कानुनी कार्वाही अगाडि बढाइएको छ । उनीहरुले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा प्रक्रिया अगाडि बढाइएको हो ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालत झापाबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको असोज १९ गते मृत्यु भएपछि सो सम्बन्धमा कानुन बमोजिम कर्तव्य ज्यानमा समेत थप कारवाही अगाडि बढाइएको प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले बताए ।

 

राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति ,नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई काठमाडौमा पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरुले असोज ६ गते राति १०ः३० बजे कनकाई ८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिरहातर्फ गइरहेको कुमार महतोले चलाएको भारतीय ट्रकमा आगजनी गरेका थिए ।

 

सोही रातिको बिहान २ः३० बजे बिर्तामोड ६ गिरीबन्धु टि इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको अर्को भारतीय ट्रकलाई आगजनी गरेका थिए ।

 

मोटरसाइकलमा आएका दुर्गाका समर्थकहरुले ट्रक चालकलाई मार्ने उद्देश्यले प्लाष्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए । ट्रक चालक कुमार महतो घाइते भई भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए ।

 

रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

 

पक्राउ परी ज्यान मुद्दामा पर्नेहरुमा हल्दिबारी १ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र अभियानको भ्रातृ संगठन पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरु हल्दिबारी १ का २४ वर्षीय विवस लिम्बू, बुद्धशान्ति ४ का बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा ९ का ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी १ का ५१ वर्षीय वीरबहादुर गुरुङ र पीडीएफका सदस्य बिर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बू रहेका छन् ।

 

भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरुले आइतवार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीसंग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो ।