समाज

आज लक्ष्मीपूजा मनाइँदै

By admin

October 31, 2024

झापा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ ।

 

यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

 

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

 

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

 

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राध्यापक देवमणि भट्टराईले जानकारी दिए ।