समाज

मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने तीन जना पक्राउ

By admin

November 15, 2024

झापा । मलद्वारमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउने कारोबारीहरुलाई सशस्त्र प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

 

काँकडभिट्टा नाकाबाट मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउनेहरुलाई शिकारी कुकुरको सहयोगमा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने तीनजना हिजो पक्राउ परेका छन् ।

 

हिजो बिहान १०ः३० बजे मेचीनगर ६ स्थित मेची पुलमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट सशस्त्र प्रहरी हवल्दार बिशाल राईको कमाण्डमा जोजो नामको तालिमप्राप्त कुकुर साथै लागूऔषध अनुसन्धान व्यूरोका प्रहरीसहितको संयुक्त टोली खटिएको थियो ।

 

उक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मे ६ प ६५१० नम्बरको स्कुटरमा सवार मेचीनगर १० धुलाबारी बस्ने ३३ वर्षीय नेसरु मियालाई पक्राउ गरेको हो । उनले मलद्वारमा २.११ ग्राम ब्राउनसुगर लुकाएर ल्याएका थिए ।

 

त्यस्तै हिजो दिउँसो ४ः१० बजे दमक ३ बस्ने २५ वर्षीय मनिषकुमार धिमाल र उनका साथी दमक ४ बस्ने २४ वर्षीय मनिष अधिकारी पक्राउ परेका छन् । शंका लागेर कुकुरद्वारा चेकजाँच गर्दा धिमालले मलद्वारमा लुकाई ल्याएको ६.८४० ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

त्यस्तै हिजो साँझ ५ बजे सोही स्थानमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मुगु खत्याड गाउँपालिका ७ बस्ने २२ वर्षीय हिराप्रसाद जैसी पनि मलद्वारमा ब्राउनसुगर ल्याउने क्रममा पक्राउ परेका छन् । उनीसँग २ ग्राम ब्राउनसुगर फेला परेको छ ।

 

ब्राउन सुगरसहित पक्राउ पर्ने तीनै जनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले बताए ।