समाज

जेसीज सप्ताहमा अर्जुनधाराका ५३१ जना विद्यार्थीको आँखा जाँच

By admin

November 20, 2024

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा रहेका दुई विद्यालयका ५३१ जना विद्यार्थीको आँखा जाँच गरिएको छ । जेसीज सप्ताहको दोस्रो दिन निःशूल्क आँखा शिविर आयोजना गरिएको हो ।

 

अर्जुनधारा जेसीज शनिश्चरेको आयोजनामा अर्जुनधारा ४ मा रहेको अर्जुनधारा माविका २१४ र नवदुर्गा आविका ३१७ जना विद्यार्थीको निःशूल्क आँखा जाँच गरिएको जेसीजका अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिए ।

 

अर्जुनधारा ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र बिर्तामोड ३ सैनिकमोडस्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरको उद्घाटन वडाध्यक्ष अम्बरबहादुर कटुवालले गरेका थिए ।

 

जेसीजका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनाल, अर्जुनधारा प्रेस क्लबका सल्लाहकार दिपीन राईलगायतले मन्तव्य राखेका थिए ।

 

शिविरमा अस्पतालका दृष्टि विशेषज्ञ अजय राय, नेत्र सहायक अदिती फागो, परामर्शदाता उमा राजवंशीसहित सात जनाले सहजीकरणसहित आँखा परीक्षण, औषधि तथा चस्मा वितरण गरेका थिए । शिविरमा अर्जुनधारा माविका आठ जना र नवदुर्गा आविका छ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको थियो ।

 

जेसीजका कोषाध्यक्ष एवम् शिविर कार्यक्रमकी संयोजक बिमला भट्टराईको संयोजकत्वमा आयोजित उद्घाटन कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताह कार्यक्रम मूल संयोजक भवानी बरालले स्वागत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव गौरव भण्डारीले गरेका थिए ।