खेलकुद

मेचीनगरलाई खुदुनाबारी गोल्डकपको उपाधि

By admin

November 21, 2024

झापा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । खुदुनाबारीको कैदले प्राकृतिक रंगशालामा बुधबार भएको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो ।

 

मेचीनगरलाई जित दिलाउन लक्षु थापाले २ गोल गरे । उनले खेलको २६औं र ३६औं मिनेटमा गोल गरेका थिए । गोल्डकपको विजेता मेचीनगरले १ लाख ११ हजार २११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उपविजेता बनेको शिवसताक्षीले ५५ हजार ६५५ रुपैयाँमा चित्त बुझायो ।

 

शिवसताक्षीका निकेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार पाए । मेचीनगरका विशाल दर्जी उत्कृष्ट डिफेन्डर र मेचीनगरकै सनम भुजेल सर्वाधिक गोलकर्ता बने । भुजेले प्रतियोगितामा ७ गोल गरेका थिए ।

 

मेचीनगरका युवराज पुरी उत्कृष्ट गोलकिपर बन्दा मेचीनगरका टिम कोच ससेन्द्र धिमालले बेष्ट कोचको पुरस्कार हात पारे । त्यस्तै आयोजक टिमका सौरव विक प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए । उनीहरु सबैले जनही नगद ७ हजार पुरस्कार पाए ।

 

फाइनल खेलको नायक बनेका लक्षु थापाले बेस्ट प्लेयर अफ दि फाइनलको पुरस्कार पाए । उनले नगद ५ हजार र ट्रफी हात पारे । गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्तरुपमा आयोजना गरेको हो ।