समाज

अर्जुनधारामा ‘जेसीज मार्ग’ नामकरण

By admin

November 21, 2024

शनिश्चरे । झापाको अर्जुनधारामा एक सहायक मार्गको नामकरण जेसीज मार्ग राखिएको छ । जेसीज सप्ताह २०२४ को कार्यक्रमअन्तर्गत चारपाने-नारायण चौक जोड्ने सडकसँग जोडिएको सडकलाई जेसीज मार्ग नामकरण गरिएको हो ।

 

अर्जुनधारा ७ नम्बर वडा कार्यालय दक्षिणमा रहेको अर्जुनधारा उद्योग वाणिज्य संघको कार्यालय, अर्जुनधारा जेसीज शनिश्चरेको भवनलगायत त्यस क्षेत्रका बस्तीका लागि मुख्य मार्गको रुपमा रहेको उक्त सहायक मार्गको नाम ‘जेसीज मार्ग’ घोषणा गरिएको हो ।

 

जेसीजका अध्यक्ष बसन्त बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष गोविन्द खतिवडाले बिहीबार मार्गको नाम घोषणासँगै रिबन काटेर उद्घाटन गरेका हुन् ।

 

दुई सय मिटरभन्दा बढी लम्बाइ रहेको सो मार्गमा गत आर्थिक वर्षमा अर्जुनधारा नगरपालिका र उपभोक्ता समितिको संयुक्त लगानीमा स्तरोन्नतिको कार्य भएको थियो । अर्जुनधारा नगरपालिकाको आठ लाख ६० हजार रुपैयाँ अनुदान र उपभोक्ता समितिको पाँच लाख ७३ हजार ७७२ रुपैयाँसहित जम्मा १४ लाख ३३ हजार ७७२ रुपैयाँको लागतमा मार्गमा प्लम्ब निर्माण तथा पेभर्स लगाइएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जेसीजका संस्थापक अध्यक्ष इन्दिवर खड्काले विभिन्न संघसंस्थासँगै बस्ती रहेको त्यस क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै आवश्यकताअनुसार सीसी क्यामेरा तथा सडक बत्ती जडान गर्न वडाध्यक्ष खतिवडासमक्ष आग्रह गरे ।

 

जेसीजका सदस्य एवम् कार्यक्रम संयोजक अर्जुन बस्नेतको संयोजकत्वमा आयोजित कार्यक्रममा स्वागत कार्यकारिणी उपाध्यक्ष एवम् समारोहका मूल संयोजक भवानी बरालले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव गौरव भण्डारीले गरेका थिए ।