शिक्षा

प्याव्सन अर्जुनधाराको अध्यक्षमा बालगोपाल गौतम निर्वाचित

By admin

November 24, 2024

शनिश्चरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) अर्जुनधाराको अध्यक्षमा बालगोपाल गौतम निर्वाचित भएका छन् । आज सम्पन्न प्याव्सनको तेस्रो पालिका अधिवेशनले गौतमलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

 

अर्जुनधारा ८ नम्बर वडाका अध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा अध्यक्ष पद र कोषाध्यक्ष पदमा निर्वाचन भएको थियो । अन्य पदमा सहमति जुटे पनि दुई पदमा निर्वाचन भएको हो ।

 

निर्वाचित गौतमले प्रतिद्वन्द्वी राजेश आचार्यलाई १ मतले पराजित गरेका हुन् । गौतमले १७ मत ल्याउँदा आचार्यले १६ मत ल्याएका थिए । आचार्य निवर्तमान सचिव हुन् ।

 

 

यसैगरी, कोषाध्यक्ष पदमा राजन वाग्ले निर्वाचित भए । उनले २१ मत ल्याए । उनका प्रतिद्वन्द्वी चन्द्रप्रसाद सुवेदीले १२ मत ल्याए । वाग्ले निवर्तमान कोषाध्यक्ष हुन् । उनी दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

 

यसअघि उपाध्यक्ष पदमा प्रविण कार्की, सचिवमा ताराप्रसाद नेपाल सर्वसम्मत भएका थिए । यसैगरी, भाष्कर भट्टराई, ध्रुवकुमार श्रेष्ठ र शान्ता गिरी सदस्य पदमा सर्वसम्मत भएका थिए ।

 

विधानअनुसार सदस्य पदमा थप दुई जनालाई कार्यसमितिले मनोनित गर्ने प्रावधान रहेको छ । कार्यसमितिको पदावधि तीन वर्षको रहने छ । अर्जुनधारामा ३३ वटा संस्थागत विद्यालय रहेका छन् ।

 

प्याव्सनका तत्कालिन अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उप्रेती, प्याव्सनका जिल्ला अध्यक्ष गौरीमान फागोले आफ्ना भनाइ राखेका थिए भने अर्जुनधाराका उपाध्यक्ष कुमार रायाले स्वागत गरेका थिए ।