खेलकुद

एनपीएलमा विराटनगरमाथि जनकपुरको विजयी सुरुआत

By admin

November 30, 2024

काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरको हो ।

 

श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी लाहिरु मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले १२८ रनको लक्ष्य १५.३ ओभरमै १३१ रन बनाउँदै पूरा गर्यो ।

 

लाहिरुले हर्ष ठाकरसँग तेस्रो विकेटमा ११६ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई आरामदायी विजयी दिलाए । ठाकेरले ३३ बल खेली २ चौकासहित २९ रन बनाए । स्कोर बराबरी रहेको अवस्थामा उनले नै निकोलस कृतनको बलमा विजयी चौका प्रहार गरे ।

 

यसअघि मार्टिन गप्टिलको अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको विराटनगर १९ ओभर खेली १२७ रनमा अलआउट भएको थियो ।

 

गप्टिलले ४३ बलमा ५५ रन बनाए । न्युजिल्यान्डका पूर्वओपनर उनले ७ चौका र १ छक्का प्रहार गरे । १३औं ओभरमा उनले बेन माइकलाई स्ट्रेट छक्का प्रहार गरी आफ्नो अर्धशतक पूरा गरेका थिए । त्यसको अर्को ओभरमा हर्ष ठाकरले उनलाई लङ अनमा कप्तान अनिल साहबाट क्याच गराए ।

 

पहिलो संस्करणको एनपीएलको पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले जनकपुर बोल्ड्स र विराटनगर किङ्सबीचको उद्घाटन खेलअघि उक्त जानकारी दिएको हो।

 

क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पाउने छ। यो कुनै पनि राष्ट्रिय प्रतियोगिताकै सर्वाधिक पुरस्कार राशि हो।

 

यसअघि २०७१/०७२ को राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कीर्तिमानी पुरस्कार एक करोड दिएको थियो।