खेलकुद

एनपीएलमा जनकपुरको दोस्रो जीत, चितवनसँग काठमाडौँ स्तब्ध

By admin

December 02, 2024

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जीत हासिल गरेको छ । आज भएको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हरायो ।

 

कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । जनकपुरका कप्तान अनिल शाहले नटआउट ६२ रन बनाए । यस्तै आसिफ शेखले ३६ रन जोडे । कर्णालीका मौसम ढकाल र जीशान मक्सूदले १-१ विकेट लिए ।

 

यसअघि कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । कर्णालीका गुल्सन झाले ३६, अर्जुन घर्तीले ३३, कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए । यस्तै भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट भए । जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए ।

 

यसअघि भएको पहिलो खेलमा चितवन राइनोजले काठमाण्डौ गुर्खाजलाई ५ विकेटले हराएको थियो । काठमाण्डौले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

 

चितवनका सन्तोष कार्कीले २८ र विदेशी खेलाडी लुक बेनकेनस्टाइनले सर्वाधिक २२ रन बनाएका थिए । काठमाण्डौ गुर्खाजका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । यस्तै गेहरार्ड इरस्मस र डान डौथवेटले १-१ विकेट लिए ।

 

काठमाण्डौले २० ओभरमा ९ विकेट गुमाएर १११ रन जोडेको थियो । काठमाण्डौका सुमित महर्जनले सर्वाधिक २९, माइकल लेभिटले २५ र डान डौथवेटले १९ रन बनाए । चितवनका सोहेल तनभिरले सर्वाधिक ५ विकेट लिए । यस्तै रिजन ढकाल, कुशल मल्ल, अमर राउटेला र लुक बेनकेन्स्टाइनले १-१ विकेट लिए ।