शनिश्चरे । वडाका युवालाई सीपमुलक सिकाइ प्रदान गर्दै स्वरोजगार बनाउने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाको ४ नम्बर वडा कार्यालयले एकसाथ दुई वटा तालिम सुरु गरेको छ ।
वडा कार्यालयमा आज युवा लक्षित हलुका सवारी ड्राइभिङ र आधारभूत व्युटिसियन तालिमको उद्घाटन गरेको हो । अर्जुृनधारा ४ का वडाध्यक्ष अम्बरबहादुर कटुवालले वडाका युवालाई स्वरोजगार बन्नका लागि सीपमुलक आधारभूत तालिम प्रदान गरिएको बताए ।
३० दिने ड्राइभिङ तालिमतर्फ २ महिलासहित २० जना प्रशिक्षार्थी रहेका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को युवा लक्षित कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा सचिव सुरज राजवंशीले जानकारी दिए ।
उनका अनुसार युवा महिला लक्षिततर्फ आयोजना गरिएको व्युटिसियन तालिमतर्फ ४० जनाको सहभागिता रहेको छ । एक लाख २५ हजार बजेटबाट तालिम प्रदान गरिने भएको छ ।
ड्राइभिङतर्फ बिर्तामोडको गड्तौला मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरले जिम्मेवारी पाएको छ । जसको प्रशिक्षकमा विष्णुकुमार गड्तौला रहेका छन् । तालिमपछि उत्कृष्ट पाँच जनालाई रोजगारको व्यवस्था गरिने सेन्टरले जनाएको छ ।
यसैगरी, व्युटिसियन तालिमको जिम्मेवारी अर्जुनधारा ८ को सरस्वती सप्लयार्स एन्ड व्युटी पार्लरले पाएको छ । जसको प्रशिक्षकमा तेजकुमारी खत्री रहेकी छन् ।
वडाध्यक्ष कटुवालको अध्यक्षतामा भएको तालिमको उद्घाटन ज्येष्ठ नागरिक देवी बरालले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका खेमराज काफ्ले, एमालेका एकदेव खनाल, माओवादीका नरप्रसाद सिटौला, राप्रपाका प्रेमबहादुर कार्की र रास्वपाका कुमार राईले शुभकामना दिएका थिए ।
वडा सचिव राजवंशीको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्य कोपिला थापाले स्वागत गरेकी थिइन् भने सहभागीका तर्फबाट नर्वदा विश्वकर्माले आफ्नो अपेक्षा राखेकी थिइन् ।