समाज

बिर्तामोडका पूर्व मेयरलाई ४ दिन हिरासतमा राख्न अनुमति

By admin

December 10, 2024

भद्रपुर । घरेलु कामदारको रुपमा राखिएकी बालिकालाई पटक पटक जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।

 

अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए । यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ ।

 

त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग्नेछ । इलाका प्रहरी कार्यालय अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई करिब ८ वर्षअघि घरेलु कामदार राखेका थिए ।

 

बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकडभिट्टास्थित महिला सेलका अधिकारीहरूलाई घटनाबारे सुनाएकी थिइन् । भारत जान लागेका बेला उद्धार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकडभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा पठाइदिएको थियो ।

 

अनारमनीमा पनि उनले त्यही अनुसारको बयान दिएपछि उनलाई पक्राउ गरिएको थियो । शिवाकोटी बिर्तामोड नगरपालिकाको यसअघिका प्रमुख हुन् ।