बिर्तामोड । भोलि (शनिबार)देखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् ।
त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब र झापा ११ फुटबल क्लब सहभागी हुने भएका छन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रतियोगिताका लागि १० हजार जना दर्शक क्षमताको प्यारापिट निर्माण, खेलमैदान स्तरोन्नति लगायतका काम पूरा भएको आयोजक झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक समितिका संयोजक केशवराज दाहालले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एक जना तथा उत्कृष्ट गोलकिप्पर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट एक जना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
खेलतालिका सार्वजनिक कार्यक्रममा झापा ११ अध्यक्ष गुरुङ, सचिव चेतामणि खनाल, झापा गोल्डकप अध्यक्ष विनोद बस्नेत, झापा कपका सल्लाहकार सन्तोष थोप्रा, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखियाको उपस्थिति रहेको थियो ।