समाज

झापामा मोटरसाइकल दुर्घटनाः एकैदिन तीन जनाको मृत्यु

By admin

December 16, 2024

झापा । झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको् मृत्यु भएको छ । दमक र शिवसताक्षी नगरपालिका क्षेत्रमा दुर्घटना भएको हो ।

 

गएराति १०ः१० बजे दमक १० स्थित सेतुमारी चोकनजिक बालुबथानतर्फ जाँदैं गरेको प्रदेश १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका ८ बस्ने २७ वर्षीय बिराज थापा, पछाडि सवार गौरादह ५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओम कुमारी राई घाइते भएका थिए ।

 

उपचारको लागि तीनै जनालाई दमक अस्पताल पठाइएकोमा घाइते दुवै महिलाको उपचारको क्रममा राति ११ः३५ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक थापालाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

 

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हिजो साँझ अन्दाजी ७ बजेको समयमा शिवसताक्षी १० किरात चौकस्थित पूर्वपश्चिम राजमार्गमा को २ त ४१४५ नम्बरको ट्रयाक्टर रोकिराखेको अवस्थामा सोही पूर्व दिशातर्फ आउँदै गरेको मे ९ प ६२४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ५ बस्ने ४२ वर्षीय सन्तोषकुमार लिम्बू र सोही मोटरसाइकलमा पछाडि सवार दमक ५ बस्ने ३५ वर्षीया अनिता राई घाइते भएका थिए ।

 

घाइते दुबैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ७ः२० बजे मोटरसाइकल चालक लिम्बूको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए । सो ट्रयाक्टर कालिका कन्स्ट्रक्सनको भएको र ट्रयाक्टर चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको जनाइएको छ ।