खेलकुद

झापा कपः आज सलहेश र चर्च ब्वाइज खेल्दै

By admin

December 20, 2024

बिर्तामोड । प्रथम झापा कप २०८१ को पहिलो सेमिफाइनल खेल आज सलहेश युवा क्लब सिरहा र चर्च ब्वाइज युनाइटेडबीच हुँदैछ । क्वार्टर फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको मधेशको बलियो टिम सलहेश आज ए डिभिजन लिग विजेता चर्च ब्वाइजसँग सामना गर्दैछ ।

 

डोमालाल राजवंशी रंगशालामा चार पटकको झापा गोल्डकपको उपाधि जितेको आर्मीलाई रोकेको सलहेश चर्च ब्वाइजसँग खेल्नुअघि लयमा रहेको छ । मधेशको चर्चित टिम सलहेशले पूर्वी नेपालका प्रतियोगितामा बलियो खेल प्रदर्शन गर्दै आएको छ ।

 

बैशाखमा भएको भोजपुर गोल्डकपमा सेमिफाइनल पुगेको क्लबले चर्च ब्वाइजसँग हार व्यहोर्नु परेको थियो । त्यस्तै, बैशाखमै भएको भीमनारायण गोल्डकपमा पहिलो चरणमै रोकिएको सलहेश भदौमा भएको ताप्लेजुङ गोल्डकपको उपविजेता बनेको थियो ।

 

डोमालाल राजवंशी रंगशालामा अघिल्लो सिजन पहिलो सहभागितामै झापा गोल्डकपको उपाधि जितेको चर्च ब्वाइज बैशाखमा भएको भोजपुर गोल्डकपको विजेता हो । झापा कपमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब रुपन्देहीलाई ३(० गोल अन्तरले रोक्दै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।

 

लिग लिडर चर्च ब्वाइजसँग एएफसी च्यालेन्ज लिगको छनोट र ४० औँ अखिल भारत गभर्नस् गोल्डकप खेलेको अनुभव छ । सिरहा गोल्डकपको अपेक्षित नतिजा निकाल्न नसकेको चर्च ब्वाइज मंसिर अन्तिम साता इलाममा भएको इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग पराजित भएको थियो ।

 

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।