खेलकुद

फाल्गुनन्द गोल्डकपमा आयोजकको विजयी सुरूवात

By admin

December 21, 2024

फिदिम । पॉचथर सदरमुकाम फिदिममा आजदेखि सुरू भएको ११औँ फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लबले विजयी शुरूवात गरेको छ ।

 

फिदिम माविको खेल मैदानमा आज भएको उदघाटन खेलमा भारतको कर्साङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोलअन्तरे पराजित गर्दै आयोजक फिदिम गोल्डकपको क्वाटर फाइनल पुगेको हो । अब आयोजकले पहिलो क्वाटर फाइनलमा पुस ८ गते त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 

निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत निकालिएको थियो । खेलको म्यान अफ दि म्याच फिदिम स्पोर्टिङका गोलरक्षक मिराक खजुम घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।

 

दश टिम सहभागी रहेको गोल्डकपमा आइतबार झापा ११ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमान्डौ भिड्नेछन । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा भएको गोल्डकपको फाइनल खेल पुस १५ गते हुनेछ ।

 

गोल्डकपको विजेताले दश लाख ५५५ र उपविजेताले ५ लाख ५५५ प्राप्त गर्ने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापामगरले जानकारी दिए ।