झापा । लागूऔषध गाँजाको कारोबार गरिरहेको अवस्थामा झापाको बुद्धशान्तिबाट प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ ।
गएराति ११ः३० बजे बुद्धशान्ति गाउँपालिका ३ स्थित धिमाल टोलमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । सोही ठाउँ बस्ने ६० वर्षीय श्याम धिमालको घर खानतलासी लिँदा उनी सुत्ने कोठाबाट प्रहरीले तयारी गाँजा ४ केजी फेला पारेको थियो ।
गाँजासहित उक्त कोठाबाट भारतीय रुपैयाँ २ हजार ३६०, नेपाली रुपैयाँ ३ लाख ६ हजार ८७०, तराजु, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाइटर १० पिस, सुतली डोरी अन्दाजी १० मिटर, प्याकेजिङ प्लाष्टिक ५० पिस, दाउजस्तो कटर चक्कु ३ थान, कैची १ थान, अचानो २ वटा, हथौँडा र मोबाईलसमेत बरामद भएको थियो ।
ती सामानहरुसहित श्याम धिमालकी छोरी २९ वर्षीया दुर्गा धिमाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।