समाज

झापा अर्जुनधाराका ९८९ जनालाई अपाङ्गताको परिचयपत्र

By admin

December 23, 2024

झापा । झापाको अर्जुनधारा नगरपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रममा ९८९ जनाले अपाङ्गताको परिचय पत्र प्राप्त गरेका छन् ।

 

अर्जुनधारा नगरपालिका क्षेत्रमा गत मंसिर २५ गतेदेखि शिविर सञ्चालन भएको थियो । अर्जुनधारा ७ को वडा कार्यालयबाट शुरु भएको आज ६ नम्बर वडा कार्यालयमा सम्पन्न भएको छ । अर्जुनधाराका ११ वटै वडा कार्यालयमा शिविर सञ्चालन गरिएको थियो ।

 

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण गर्ने उद्देश्यले शुरु भएको शिविरमा १ हजार २७१ जनाले सेवा लिएको नगर उपप्रमुख एवम् अपाङ्गता नगर समन्वय समितिकी संयोजक खड्गमाया पराजुलीले जानकारी दिइन् ।

 

उनका अनुसार ९८९ जनामध्ये २०२ जनाले रातो, ४०२ जनाले निलो, २५२ जनाले पहेंलो र १३३ जनाले सेतो परिचय पत्र प्राप्त गरेका छन् । त्यस्तै, शिविरमा थप नयाँ ४२७ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेको र १३१ जनाको प्रक्रियाका लागि अपाङ्गता नगर समन्वय समितिमा लानुपर्ने भएको बताइएको छ ।

 

सोही कार्यक्रममा शिविरमा निरन्तर सेवा प्रदान गर्ने अर्जुनधारा ९ स्थित शनिश्चरे अस्पतालका मेडिकल अधिकृतद्वय डा उमाशंकर सिंह र डा दीपा बखती, लाहान २ निवासी इएनटी सहायक वीरेन्द्रप्रसाद साह, बुढानिलकण्ठ ६ निवासी मनोविद् प्रविना कार्की र बिर्तामोड ५ निवासी फिजियोथेरापिष्ट मार्विन देवानलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

 

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, अर्जुनधारा नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा चालु आर्थिक वर्ष ०८१/०८२देखि शुरु भएको उक्त कार्यक्रमअन्तर्गत आयोजना गरिएको शिविरमा पहिचान भएका अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको आवश्यकता अनुसार स्वास्थ्योपचार, सहायक सामग्री, शिक्षा, जीविकोपार्जन, सामाजिकीकरण र सशक्तिकरणका क्षेत्रमा सहयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

 

नगर उपप्रमुख पराजुलीको अध्यक्षता र नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलाले कार्यक्रमको विषयमा आफ्नो धारणा राखेका थिए । टोलीमा संलग्न राजश्व शाखा प्रमुख एवम् प्रमाणपत्र प्रमाणित गर्ने अधिकारी डेनजनी आचार्यले शिविरको औचित्यबारे जानकारी गराएको उक्त कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी प्रमुख सूर्यमाला लिम्बूले गरेकी थिइन् ।