खेलकुद

विराटनगरको पोस्टमा चर्च ब्वाइजको गोल वर्षा

By admin

December 25, 2024

फिदिम । लिग लिडर चर्च ब्वाइज युनाइटेड काठमाडौँ यहाँ जारी ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनएसएल टोली विराटनगर सिटी एफसीको पोस्टमा गोल वर्षा गर्दै चर्च ब्वाइजे अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

२ दिनअघि मात्र झापा कप जितेको चर्च व्वाइज बुधबार भएको तेस्रो क्वाटर फाइनल खेलमा विराटनगरमाथि एकर्तफी हाबी भएको थियो । चर्च ब्वाइजको जितमा ७-१ गोलको फराकिलो नतिजा निस्केको छ ।

 

चर्च ब्वाइजका लागि समिर तामाङ र अर्माण्डले ह्याट्रिक पूरा गरे । थप एक गोल विदेशी खेलाडी फोफाेना अबयोमीको नाममा रह्यो । विराटनगरका लागि परिवर्तित खेलाडी सन्दिप राईले सान्त्वना गोल गरेका हुन् ।

 

खेलमा पहिलो गोल गर्दै ह्याट्रिक पूरा गरेका चर्च ब्वाइजका समिर तामाङ प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । सेमिफाइनलमा चर्च ब्वाइजले फाइनल प्रवेशका लागि शुक्रबार आयोजक फिदिम स्पोर्टिङ क्लबसँग खेल्नेछ ।

 

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल भोलि न्यू रोड टिम (एनआरटी) र सिरहाको सलहेश युवा क्लबबीच हुनेछ । गोल्डकप विजेताले १० लाख ५ हजार ५५५ र उपविजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् ।