खेलकुद

चर्च ब्वाइज बन्याे फाल्गुनन्द गाेल्डकप च्याम्पियन

By admin

December 30, 2024

फिदिम । ए डिभिजन लिग लिडर चर्च ब्वाइज युनाइटेड यहाँ आयोजित ११औँ फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको छ । चर्च ब्वाइज झापा कप च्याम्पियन बनेको एक सातामा फेरि च्याम्पियन बनेको हो ।

 

आज भएको फाइनल खेलमा मच्छिन्द्र एफसीलाई टाइब्रेकरमा ५-४ गोलअन्तरले हराउँदै चर्च ब्वाइज ब्याक टु ब्याक च्याम्पियन बन्न सफल भयो । यसअघि इलाम गोल्डकपको उपविजेता पनि हो ।

 

टाइब्रेकरमा चर्च ब्वाइजका एकराज बुढाथोकी, रोहण कार्की, अवयोमी, छिरिङ लामा र सुजन डङगोलको प्रहार गोलमा परिणत भएको थियो भने मच्छिन्द्रका देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिरराज थोकरको प्रहारमात्र गोलमा परिणत भयो । दयानन्दको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले रोकेका थिए ।

 

निर्धारित ९० मिनेटमा दुवै टोलीले २-२ गोलको बराबरी गरेका थिए । खेलको अग्रता मच्छिन्द्रले बनाएको थियो । पहिलो हाफमा १ गोलको अग्रता भए पनि दोस्रो हाफमा चर्च ब्वाइजले गोल फर्कायो । फेरि मच्छिन्द्रले थप एक गोल गरेर २-१ को स्थितिमा ल्याएको थियो ।

 

खेलको अन्तिम २ मिनेट सम्हालिन नसक्दा मच्छिन्द्र टाइब्रेकरमा पुगेको हो । समिर तामाङले बराबरी गोल गरेर टिमलाई टाइब्रेकरमा पुराए । समिर हाइ स्कोररसँगै उत्कृष्ट खेलाडी पनि बने । उनले नगद १० हजारसँगै इभी स्कुटी पनि पाए ।

 

बेस्ट डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ, प्लेयर अफ दी म्याच सनिश श्रेष्ठ, उत्कृष्ट गोलरक्षकमा चर्च ब्वाइजका क्रिशल मोक्ताङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरर्वाड मच्छिन्द्रका बिजु भुजेल र उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित हुँदै जनही १० -१० हजार पाउन सफल भए ।

 

फिदिम स्पोर्टिङ क्लब पाँचथरको आयोजनामा भएको गोल्डकपको विजेता चर्च ब्वाइजले नगद १० लाख र उपविजेता मच्छिन्द्रले नगद ५ लाखसहित ट्रफी पाएको छ ।