अर्थ बजार

झापा इनर्जीकाे आइपीओ जारी गर्ने प्रस्ताव

By admin

January 03, 2025

बिर्तामोड । झापाको बिर्तामोड ४ मा कार्यालय रहेको झापा इनर्जी लिमिटेडले आइपीओ जारी गर्ने प्रस्ताव अघि सारेको छ । कम्पनीको आज बिर्तामोडमा आयोजित छैटौं वार्षिक साधारणसभामा आगामी दिनमा आइपीओ जारी गर्ने जनाएको हो ।

 

गत माघबाट उत्पादन शुरु गरेको कम्पनीले छोटो समयमा मुनाफा गर्न सफल भएको बताउँदै कम्पनीका अध्यक्ष तथा संघीय सांसद एलपी साँवा लिम्बूले कम्पनीको आइपीओ जारी गर्ने योजना रहेको बताएका हुन् ।

 

अध्यक्ष साँवाको प्रतिवेदनअनुसार कम्पनीले गत माघ १० गतेदेखि असार ३१ गतेसम्म ७२ लाख ४४ हजार ४९० युनिट विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेर ५ करोड २८ लाख ८४ हजार ७७७ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै यो प्रतिवेदन तयार हुँदासम्म अर्थात् २०८० माघ १० गतेदेखि उक्त आयोजनाले २०८१ मंसिर ३० गतेसम्ममा एक करोड २७ लाख ४ हजार ३११ युनिट विद्युत् उत्पादनबाट नौ करोड २७ लाख ४१ हजार ४७० रुपैयाँ आम्दानी गरेको अध्यक्ष साँवाको प्रतिवेदनमा उल्लेख छ ।

 

यसैगरी कम्पनीको अधिकत पुँजी ४० लाख बित्ता बराबर प्रति शेयर रु १०० का दरले ४० करोड रहेको छ भने कम्पनीको जारी पुँजी ३८ करोड १ लाख ९ हजार रहेको अध्यक्ष साँवाले बताए । जारी गरिएको पुँजीमध्ये यस कम्पनीको संस्थापक शेयर धनीहरुले ७५ प्रतिशतले हुन आउने २८ करोड ५१ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको शेयर कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र सर्वसधारणहरुका लागि जारी गरिएको अध्यक्ष साँवाले जानकारी दिए ।

 

कम्पनीले परियोजनाका निर्माणका लागि शिवसताक्षी ४ बुलु्चोकमा १० बिघा १७ कठ्ठा १८.५ धुर र झापा इनर्जीको शतप्रतिशत स्वामित्व रहेको झापा एग्रो इण्डिष्ट्रिज प्रालिको नाममा रहेको १० बिघा १३ कठ्ठा ११ धुर गरी जम्मा २१ बिघा ११ कठ्ठा ९.५ धुर जग्गा खरिद गरी निर्माण कार्यको थालनी गरेको थियो ।

 

उक्त आयोजनाबाट उत्पादन भएको सौर्य विद्युत् ३३ केभी सिङ्गल सर्किट प्रशारण लाइनमार्फत दमक वितरण केन्द्रअन्तरगत बुलुचोक सब–स्टेशनमा लगेर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । उक्त आयोजनाको प्रशारण लाइन ९६६ मिटर मात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

शिवसताक्षी ४ बुलुचोकमा उर्जामार्फत राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने उदेश्यले २०७५ असोज १६ गते कम्पनीको स्थापना भएको थियो । कम्पनीका सञ्चालक रामचन्द्र उप्रेतीले स्वागत गरेको कार्यक्रममा कोशी प्रदेशका पूर्व कृषि मन्त्री झलकसिंह दर्लामी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष, कम्पनीका पूर्व सञ्चालक तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभकामना मनतव्य राखेका थिए ।

 

कार्यक्रमको सञ्चालन कम्पनीका प्रबन्धक सञ्चालक सुवास भट्टराईले गरेको कार्यक्रममा कम्पनीका सचिव तथा महाप्रवन्धक सरोज श्रेष्ठले कम्पनीको कम्पनीको बारेमा जानकारी दिदै आयब्यय प्रस्तुत गरेका थिए ।