खेलकुद

नगरस्तरीय मार्सल आर्टमा शनिश्चरे र रुपरत्नको वर्चस्व

By admin

January 27, 2025

शनिश्चरे । अर्जुनधारा नगरस्तरीय १२औँ राष्ट्रपति रनिङ शिल्डको मार्सल आर्टतर्फ कराते, तेक्वान्दो र उसुका खेल सम्पन्न भएका छन् । दुई विधामा शनिश्चरे मावि र एक विधामा रुपरत्न मेमोरियल बोर्डिङ स्कुलको बर्चस्व रह्यो ।

 

आज भएको तेक्वान्दोको अन्तिम खेलमा शनिश्चरे मावि प्रथम भएको छ । तीन वटा स्वर्णसहित ९ वटा पदकसहित शनिश्चरे मावि प्रथम भएको हो । यसैगरी, २ स्वर्णसहित ४ पदक ल्याएको भानु मावि दोस्रो भयो ।

 

करातेतर्फ रुपरत्न मेमोरियल बोर्डिङ स्कुल प्रथम भएको छ । ४ स्वर्णसहित १२ पदक ल्याएर रुपरत्न करातेमा प्रथम भएको हो । यस्तै, ३ स्वर्णसहित ५ वटा पदक ल्याएको शनिश्चरे मावि दोस्रो भएको छ ।

 

यसैगरी, उसुतर्फ शनिश्चरे मावि प्रथम भएको छ । शनिश्चरेले ७ स्वर्णसहित ११ वटा पदक ल्याउँदै नगर प्रथम भएको हो । यसैगरी, स्वस्तिका शिशु सदनले २ स्वर्णसहित ४ वटा पदक ल्याएर दोस्रो भयो भने १ स्वर्णसहित ३ वटा पदक ल्याएको एम्स एकाडेमी तेस्रो भएको छ ।

 

अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, समितिका सल्लाहकार वीरबहादुर राईलगायतले विजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव खगेन्द्रबहादुर लिङदेनले गरेका थिए ।